(झ्याउरे लयमा)
कविता - परदेशीको पीडा-
_____o_____o_______o________
सम्झेर गाउँ जन्मेको ठाँउ आँशुको खोला भो
विदेशि माटो ममता साटो पैसाको झोला भो ॥
गाउँदै नाँच्दै लेक र बेशीँ खेलेको पाखामा
लाला र बाला घरको ढिडो झल्झली आँखामा ॥
धनको आशा बिरानो भुमि करैले टेकियो
पराई पाऊ छोएर दु:ख अनेकौ देखियो ॥
पैसाको बृक्ष नहुँदो रैछ न फल्ने सम्पत्ति
न कोहि साथी न कोही आफ्नो झेल्नु छ बिपत्ति ॥
हे मेरा साथी बिदेशको दु:ख गार्हो छ सहन
पाईन्न बिदा फर्केर जान मन हुन्न रहन ॥
बिरामी हुँदा न कोहि हुन्छ अस्पताल लैजाने
बिछ्यौना माथी ढलेको बेला के पिउने के खाने ॥
न कोहि हुन्छ पकाई दिने न दिने किनेर
नजिकै केही पाईन्न खोज्न काँ-जाने हिनेर ॥
घरमा जस्तै ति साग सब्जी पाईन्न सर्वत्र
नदेख्या कैले नसुन्या कैले परिकार बिचित्र ॥
गुन्द्रुक र ढिँडो खाएकै बेश गाउँमा बसेर
गाउँ नै राम्रो पियारो हाम्रो बसिन्छ हाँसेर ॥
हे मेरा दाजू हे मेरा भाई नजानु बिदेशमा
पसिना बगे मोतिका दाना फल्नेछ स्वदेशमा ॥॥
***



0 प्रतिक्रिया हरु:
Post a Comment